काठमाडौ।
राष्ट्रिय वाणिज्य बैंकले आफ्नो ६१औँ वार्षिकोत्सवको अवसर पारेर ‘आरबीबी डिजिटल संसार’ मोबाइल बैंकिङ एपमार्फत ‘फोनलोन’ सेवाको शुभारम्भ गरेको छ। वित्तीय समावेशीकरण र डिजिटल बैंकिङ सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले बैंकले आफ्ना ग्राहकका लागि यो नवीन सुविधा सञ्चालनमा ल्याएको हो।
यो सेवा अन्तर्गत बैंकमा नियमित तलब खाता भएका योग्य ग्राहकहरूले अब मोबाइल एपबाटै अधिकतम १ लाख रुपैयाँसम्मको कर्जा प्राप्त गर्न सक्नेछन्। एफवान सफ्ट ग्रुपअन्तर्गतको फोनलोन प्रालिको सहकार्यमा सुरु गरिएको यो सेवा पूर्ण रूपमा डिजिटल, छिटो र झन्झटरहित रहेको बैंकले जनाएको छ। कर्जा प्राप्त गर्नका लागि कुनै धितो राख्नुपर्ने, कागजी प्रक्रिया पूरा गर्नुपर्ने वा बैंक शाखा धाउनुपर्ने बाध्यता रहनेछैन।
बैंकका अनुसार ग्राहकको तलब जम्मा हुने नियमितता, हालका ऋण दायित्व तथा विगतको ऋण भुक्तानी आचरणका आधारमा बैंकले कर्जाको सीमा र योग्यता निर्धारण गर्नेछ। सेवाग्राहीले मोबाइल एपको ड्यासबोर्डबाटै कर्जाको लागि आवेदन दिन सक्नेछन् र स्वीकृति पश्चात तुरुन्तै रकम प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ। ऋणीले एक महिनाभित्र वा १२ महिनासम्मको किस्ताबन्दी (ईएमआई) सुविधा रोजेर ऋण चुक्ता गर्न सक्नेछन् भने समयअगावै ऋण तिर्न चाहेमा पूर्वभुक्तानी (प्रि-पेमेन्ट) को सुविधासमेत उपलब्ध रहेको छ।
यो नवीन डिजिटल सेवाले कञ्चनपुर लगायत सुदूरपश्चिमका दूरदराजमा रहेका सेवाग्राहीलाई समेत सानातिना आर्थिक गर्जो टार्न औपचारिक बैंकिङ प्रणालीमा जोड्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। कागजी प्रक्रियाको झन्झट अन्त्य गर्दै प्रविधिमैत्री बैंकिङ सेवा प्रवाहमा यो कदम कोसेढुङ्गा साबित हुने विश्वास बैंकले लिएको छ।





