प्रतिनिधिसभा निर्वाचनका लागि कञ्चनपुरमा दुई हजारभन्दा बढी कर्मचारी परिचालन गरिँदै

बेलौरी, कञ्चनपुर । आगामी फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी कञ्चनपुर जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा दुई हजार एक सय ६६ जना कर्मचारी खटाइने भएको छ । जिल्ला निर्वाचन कार्यालयले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र व्यवस्थित बनाउन आवश्यक जनशक्ति व्यवस्थापनको तयारीलाई तीव्रता दिएको हो ।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भानबहादुर महराका अनुसार जिल्लाका तीनवटै क्षेत्रमा गरी कुल तीन सय ६० वटा स्थायी र दुईवटा अस्थायी मतदान केन्द्रहरू तय गरिएका छन् । प्रत्येक स्थायी मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र कार्यालय सहयोगी गरी ६ जनाका दरले कर्मचारी खटाइने व्यवस्था मिलाइएको छ । अस्थायी केन्द्रहरूमा भने प्रति केन्द्र तीन जना कर्मचारी परिचालन गरिनेछन् ।

यसपटक निर्वाचनमा कर्मचारीहरूको खटनपटनका लागि निजामतीतर्फका स्थायी कर्मचारी, स्थायी शिक्षक र विभिन्न सरकारी संस्थानका कर्मचारीहरूलाई प्राथमिकतामा राखिएको छ । निर्वाचन क्षेत्र नं. २ का निर्वाचन अधिकृत प्रकाशबहादुर भण्डारीका अनुसार कर्मचारीहरूको विवरण संकलन र छनोट प्रक्रिया केही दिनभित्रै सुरु हुनेछ । मतदान केन्द्रमा आवश्यक पर्ने स्वयंसेवकहरूको नियुक्ति भने सम्बन्धित मतदान अधिकृतले नै गर्ने प्रावधान रहेको छ ।

जिल्लाभरको मतदान केन्द्रको अवस्था हेर्दा निर्वाचन क्षेत्र नं. १ मा १२२, निर्वाचन क्षेत्र नं. २ मा १२३ र निर्वाचन क्षेत्र नं. ३ मा ११५ मतदान केन्द्रहरू रहेका छन् । विगतका निर्वाचनको तुलनामा यसपटक मतदाताको चापलाई मध्यनजर गर्दै १४ वटा मतदान केन्द्र थप गरिनुका साथै दुईवटा अस्थायी मतदान केन्द्रको समेत व्यवस्था गरिएको छ ।

निर्वाचन कार्यालयको पछिल्लो तथ्याङ्क अनुसार कञ्चनपुरमा कुल तीन लाख १४ हजार ३८५ मतदाता रहेका छन् । जसमा महिला मतदाताको संख्या एक लाख ६० हजार ३१६ र पुरुष मतदाताको संख्या एक लाख ५४ हजार ६८ रहेको छ । कर्मचारीहरूको व्यवस्थापन र मतदान केन्द्रको तयारी अन्तिम चरणमा पुगेसँगै कञ्चनपुरमा चुनावी चहलपहल थप बढेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ