सुदूरपश्चिममा तीन दलको एकतासँगै नेकपा बन्यो ठुलो दल, खगराज भट्ट संसदीय दलको नेता चयन

बेलौरी, कञ्चनपुर

सुदूरपश्चिम प्रदेशसभामा क्रियाशील तीन राजनीतिक दलहरूबीचको एकतासँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभाको सबैभन्दा ठुलो दल बनेको छ। साविकको नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यहरूको संयुक्त बैठकले दल मर्जरको निर्णय गर्दै प्रदेशसभा सचिवालयलाई आधिकारिक जानकारी गराएको छ।

नयाँ गठन भएको नेपाली कम्युनिस्ट पार्टीको संसदीय दलको नेतामा खगराज भट्ट सर्वसम्मत चयन हुनुभएको छ। दलका नेता भट्टका अनुसार साविकका तीनवटै दलका गरी १५ जना प्रदेशसभा सदस्यहरूको उपस्थितिमा सो निर्णय भएको हो। निर्वाचनका कारण केही सदस्यहरू उपस्थित हुन नसके तापनि उनीहरूले दुवै निर्णयमा आफ्नो पूर्ण समर्थन रहेको प्रतिबद्धता जनाएको भट्टले जानकारी दिनुभयो।

यस राजनीतिक ध्रुवीकरणसँगै सुदूरपश्चिम प्रदेशसभामा नेकपाको शक्ति २१ सदस्य पुगेको छ। यसअघि माओवादी केन्द्रका सभामुखसहित ११, नागरिक उन्मुक्ति पार्टीका ७ र एकीकृत समाजवादीका ३ सदस्य (निलम्बनबाहेक) रहेका थिए। यस एकतासँगै १८ सिट रहेको नेपाली कांग्रेस दोस्रो दलमा खुम्चिएको छ भने नेकपा एमाले ११ सिटसहित तेस्रो स्थानमा रहेको छ। प्रदेशसभामा राष्ट्रिय प्रजातन्त्र पार्टीको एक सिट रहेको छ।

संसदीय दलको बैठकले दलको विधान मस्यौदा तयार पार्नका लागि ५ सदस्यीय कार्यदल समेत गठन गरेको छ। उक्त कार्यदलमा प्रदेश सांसदहरू रमेशसिंह धामी, ओमविक्रम भाट ‘सरल’, खुसीराम डगौरा थारू, माया पन्त र इन्दिरा गिरी रहनुभएको छ। कार्यदलले पार्टीको आन्तरिक सञ्चालन र संसदीय प्रक्रियाका लागि आवश्यक कानुनी दस्तावेज तयार पार्ने जिम्मेवारी पाएको छ।

प्रदेशमा विकसित यो नयाँ राजनीतिक समीकरणले सुदूरपश्चिमको आगामी सत्ता राजनीति र विकासका एजेन्डाहरूमा दुरगामी प्रभाव पार्ने अपेक्षा गरिएको छ। एकीकृत दलले अब प्रदेशसभामा आफ्नो प्रभावकारी भूमिका निर्वाह गर्ने र जनपक्षीय मुद्दाहरूलाई प्राथमिकता दिने विश्वास लिइएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ