सुरज श्रेष्ठ । महेन्द्रनगर (कञ्चनपुर)
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) हेमबहादुर शाहीले जिल्लामा बढ्दो गुण्डागर्दी र उच्छृंखल गतिविधि नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अख्तियार गर्ने घोषणा गरेका छन् । शुक्रबार आयोजित पत्रकार परिचय कार्यक्रममा बोल्दै उनले समाजमा शान्ति, सुरक्षा र विधिको शासन कायम गर्न प्रहरीले कुनै पनि शक्ति वा दबाबसँग सम्झौता नगर्ने स्पष्ट पारेका हुन् ।
पछिल्लो समय महेन्द्रनगर र आसपासका क्षेत्रमा युवाहरूले विभिन्न समूह वा ग्याङ बनाएर असामाजिक क्रियाकलाप गर्ने प्रयास गरिरहेको सूचना प्राप्त भएपछि प्रहरीले सूक्ष्म निगरानी बढाएको डिएसपी शाहीले जानकारी दिए । खासगरी सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने, हुलहुज्जत गर्ने र सर्वसाधारणलाई त्रसित बनाउने कार्यमा संलग्न तत्वहरू प्रहरीको उच्च प्राथमिकतामा रहेका छन् । सोही क्रममा सामाजिक सञ्जालमा खुँडासहितको भिडियो सार्वजनिक गरेको अभियोगमा प्रहरीले महेन्द्रनगरका कुनाल अवस्थीसहित तीन जनालाई नियन्त्रणमा लिएर कानूनी प्रक्रिया अगाडि बढाएको छ ।
प्रहरीले जिल्लामा सम्भावित आपराधिक गतिविधिमा संलग्न हुन सक्ने व्यक्तिहरूको ‘प्रोफाइलिङ’ गर्ने कार्य समेत सुरु गरिसकेको छ । डिएसपी शाहीले जन्मदिन मनाउने बहानामा महाकाली नदीको चार लेन पुल जस्ता सार्वजनिक स्थल अवरुद्ध गर्ने र समाजमा गलत सन्देश प्रवाह गर्ने कार्यलाई पूर्ण रूपमा निषेध गरिने चेतावनी दिएका छन् । युवा अवस्थामा देखिने उच्छृंखलताले भविष्यमा गम्भीर अपराधको रूप लिन सक्ने भएकाले समयमै यस्ता सञ्जाल भत्काउन प्रहरी सक्रिय भएको उनको तर्क छ ।
आसन्न निर्वाचन र जिल्लाको समग्र सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै प्रहरीले सुरक्षा रणनीतिका नयाँ योजनाहरू कार्यान्वयनमा ल्याएको छ । यसअघि पनि विभिन्न जिल्लामा सफल कार्यसम्पादन गरिसकेका शाहीले कञ्चनपुरमा रहँदा नागरिक मैत्री प्रहरी सेवा र अपराधमुक्त समाज निर्माणमा आफ्नो सम्पूर्ण उर्जा खर्चिने बताए । कानूनको उल्लंघन गर्ने जो कोहीलाई पनि कानूनी दायरामा ल्याइने भन्दै उनले नागरिकलाई निर्धक्क भएर आफ्नो दैनिक कामकाजमा संलग्न हुन आग्रह गरेका छन् ।
जिल्लाको शान्ति सुरक्षालाई थप मजबुत बनाउन समुदाय र प्रहरी बीचको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै डिएसपी शाहीले कुनै पनि अप्रिय घटना वा शंकास्पद गतिविधिको सूचना तत्काल प्रहरीलाई उपलब्ध गराउन समेत आह्वान गरेका छन् । प्रहरीको यो सक्रियताले जिल्लामा सुशासन र विधिको शासन बलियो हुने विश्वास स्थानीयले लिएका छन्





