नेपालका प्रथम सहिद लखन थापा मगरको १४९ औँ स्मृति दिवसमा बेलौरीमा दीप प्रज्वलन

बेलौरी, कञ्चनपुर

जहानियाँ राणा शासनविरुद्ध पहिलो आवाज उठाउने नेपालका प्रथम सहिद क्याप्टेन लखन थापा मगरको १४९ औँ स्मृति दिवसका अवसरमा कञ्चनपुरको बेलौरीमा बिहीबार साँझ एक विशेष कार्यक्रमका बीच दीप प्रज्वलन गरिएको छ। नेपाल मगर संघ बेलौरी नगर समितिको आयोजना तथा नेपाल मगर विद्यार्थी संघ सुदूरपश्चिम प्रदेश समितिको समन्वयमा बेलौरीस्थित संविधान चोकमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

नेपालको लोकतान्त्रिक आन्दोलनका प्रणेता थापाले वि.सं. १९३३ फागुन २ गते शहादत प्राप्त गरेको दिनको स्मरण गर्दै आयोजित कार्यक्रममा स्थानीय बासिन्दा तथा मगर समुदायका अगुवाहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा नेपाल मगर संघ बेलौरी नगर समितिका संस्थापक अध्यक्ष क्याप्टेन ओम बहादुर राना मगर र संस्थापक उपाध्यक्ष क्याप्टेन ईश्वर थापा मगरले संयुक्तरुपमा दीप प्रज्वलन गरी सहिद थापाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभयो।

सो अवसरमा वक्ताहरूले प्रथम सहिद लखन थापा मगरले नेपालको राजनीतिक परिवर्तन र सामाजिक न्यायका लागि पुर्‍याउनुभएको योगदानको चर्चा गर्नुभयो। निरङ्कुश राणा शासनको विरुद्धमा जनस्तरबाट विद्रोहको बिगुल फुक्ने थापाको साहस र त्यागले नै नेपालमा प्रजातन्त्रको जग बसाल्न मद्दत पुगेको धारणा कार्यक्रममा व्यक्त गरिएको थियो। राज्यले थापालाई ढिलै गरी प्रथम सहिद घोषणा गरे पनि उहाँको योगदानलाई विद्यालय तहको पाठ्यक्रम र स्थानीय गौरवका रूपमा स्थापित गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।

नेपाल मगर विद्यार्थी संघ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष भरत सिरिस मगरले सञ्चालन तथा संयोजन गर्नुभएको उक्त कार्यक्रममा उपस्थित अन्य वक्ताहरूले सहिदको सपना साकार पार्न सामाजिक एकता र अधिकार प्राप्तिको लडाइँलाई जारी राख्नुपर्ने बताएका थिए। बेलौरीको मुख्य चोकमा भएको यस कार्यक्रमले सहिदको सम्मानसँगै ऐतिहासिक तथ्यलाई नयाँ पुस्तासम्म पुर्‍याउन सहयोग पुग्ने विश्वास लिइएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ