बेलौरी, कञ्चनपुर।
निर्वाचन आयोगले तोकेको कार्यतालिका अनुसार आगामी फागुन २१ गते हुने निर्वाचनका लागि आजदेखि औपचारिक रूपमा प्रचारप्रसारको समय सुरु भएको छ। मतदान हुने दिनभन्दा १७ दिन अगावै उम्मेदवार तथा राजनीतिक दलहरूले जुलुस, आमसभा र कोणसभा गर्न पाउने कानुनी व्यवस्था अनुसार आजदेखि चुनावी अभियानले वैधानिकता पाएको हो।
आयोगले जारी गरेको निर्वाचन आचारसंहिता २०८२ बमोजिम उम्मेदवारहरूले फागुन १८ गते मध्यरातसम्म आफ्ना एजेन्डा र प्रतिबद्धतासहित मतदाताको घरदैलोमा पुग्न पाउनेछन्। मतदान सुरु हुनुभन्दा ४८ घण्टा अगाडिदेखि मौन अवधि सुरु हुने भएकाले दलहरूले आफ्ना शक्ति प्रदर्शन र चुनावी प्रचारका लागि जम्मा १५ दिनको समय पाएका छन्। यस अवधिमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूले मतदाता रिझाउन विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने तयारी गरेका छन्।
प्रचारप्रसारको समय सुरु भएसँगै आयोगले आचारसंहिताको पूर्ण पालना गर्न सबै पक्षलाई कडा निर्देशन दिएको छ। सार्वजनिक स्थलमा भित्ते लेखन गर्न, सवारीसाधनको प्रयोग गरी र्याली निकाल्न र कसैको व्यक्तिगत मानमर्दन हुने गरी सामग्री प्रचार गर्न रोक लगाइएको छ। ज्येष्ठ नागरिक, महिला र अपाङ्गता भएका व्यक्तिको भावनामा चोट पुग्ने खालका गतिविधि गर्न नपाइने व्यवस्थालाई कडाइका साथ लागू गरिने आयोगले जनाएको छ।
सुदूरपश्चिम प्रदेशका विभिन्न निर्वाचन क्षेत्रहरूमा पनि उम्मेदवारहरूले आफ्नो सक्रियता बढाएका छन्। कञ्चनपुरका स्थानीय तहहरूमा राजनीतिक दलहरूले आफ्ना सम्पर्क कार्यालयहरू खोल्ने र कार्यकर्ता परिचालन गर्ने कार्यलाई तीव्र बनाएका छन्। स्थानीय प्रशासनले निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन सुरक्षा व्यवस्था र अनुगमन संयन्त्रलाई चुस्त पारेको छ।
निर्वाचनको मिति नजिकिँदै जाँदा मतदाताहरूमा नयाँ नेतृत्व चयनको उत्साह देखिएको छ भने दलहरूले आफ्नो जनमत सुरक्षित गर्न अन्तिम कसरत सुरु गरेका छन्। निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गर्ने जो कोहीलाई पनि कानुन बमोजिम कारबाही गरिने चेतावनी दिएकाले यसपटकको प्रचार शैली निकै मर्यादित हुने अपेक्षा गरिएको छ।





