बेलौरी (कञ्चनपुर) । कञ्चनपुरको बेलौरी नगरपालिकाका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले अवैध लागूऔषध खैरो हिरोइनसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागूऔषधसहित पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बेलौरी नगरपालिका वडा नं. ६ का ४० वर्षीय सुरेश बडायक र वडा नम्बर ८ का ३४ वर्षीय हरीकिसन राना रहेका छन्।
प्रहरीका अनुसार पहिलो घटनामा वडा नं. ६ का बडायकको साथबाट ३१० मिलिग्राम लागूऔषध खैरो हिरोइन बरामद गरिएको छ। त्यसैगरी, दोस्रो घटनामा वडा नम्बर ८ का रानालाई ३ ग्राम ३८० मिलिग्राम परिमाणको अवैध पदार्थसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारी अनुसार पक्राउ परेका दुवै व्यक्तिमाथि थप अनुसन्धान भइरहेको छ।





