कञ्चनपुर
इन्धन लगायतका निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धिको विरोध गर्दै निर्माण व्यवसायी संघ कञ्चनपुरले निर्माण कार्य ठप्प पार्ने चेतावनी दिएको छ। संघलले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै मूल्य वृद्धि स्थिर नहुँदासम्मका लागि सम्पूर्ण निर्माण कार्य रोक्न सम्बन्धित निकायसँग माग गरेको हो।
मध्यपूर्व र पश्चिम एसियामा देखिएको युद्धको प्रभाव देखाउँदै नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा पटक–पटक गरेको मूल्यवृद्धिले निर्माण उद्योग धराशायी बनेको व्यवसायीको ठहर छ। चैत २ गते र पुनः चैत १२ गते भएको पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
विज्ञप्तिमा उल्लेख भए अनुसार बजारमा फलामे डन्डीको मूल्य प्रति केजी ८५ रुपैयाँबाट वृद्धि भई १०७ रुपैयाँ पुगेको छ भने सिमेन्टमा प्रति बोरा १०० रुपैयाँसम्म मूल्य वृद्धि भएको छ। सीमित उद्योगीहरूले मूल्यवृद्धिसँगै बजारमा कृत्रिम अभाव सिर्जना गरी उत्पादनमा समेत कटौती गर्दा निर्माण क्षेत्र थप संकटमा परेको व्यवसायीहरूको गुनासो छ।
निर्माण व्यवसायी संघ कञ्चनपुरका महासचिव देवी दत्त भट्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा सार्वजनिक खरिद ऐन र नियमावली अनुसार हाल सम्झौता भई सञ्चालनमा रहेका योजनाहरूमा मूल्य समायोजन गर्न सरकारसँग जोडदार माग गरिएको छ। खुला अर्थतन्त्रको नीति विपरीत भएको यस्तो मूल्यवृद्धिलाई व्यवसायीले ‘अवैज्ञानिक र दण्डनीय अपराध’ को संज्ञा दिएका छन्।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्ने मूल्य सूचकांक (Price Index) वास्तविक नभएको दाबी गर्दै संघले बजारको यथार्थ मूल्यका आधारमा सम्बोधन नभएसम्म निर्माण कार्य अगाडि बढाउन नसकिने स्पष्ट पारेको छ। सरकारले मूल्य स्थिर नहुँदासम्मका लागि आधिकारिक रूपमा निर्माण कार्य रोक्ने घोषणा नगरे व्यवसायीहरू स्वयं काम स्थगित गर्न बाध्य हुने चेतावनी समेत दिइएको छ।






