बेलौरी (कञ्चनपुर), २१ चैत ।
नेपालको अग्रणी बीमा प्रदायक संस्था एशियन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो स्थापनाको १८औँ वार्षिकोत्सवको अवसरमा कञ्चनपुरको बेलौरीमा विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहयोग गरेको छ । कम्पनीको बेलौरी शाखाले बेलौरी नगरपालिका वडा नं. ५ स्थित जन नमुना माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको हो ।

एशियन लाइफ इन्स्योरेन्स बेलौरी शाखाका प्रमुख केशव दत्त भट्टको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बेलौरी नगरपालिका वडा नं. ५ का वडा प्रतिनिधि कृपा राम चौधरी प्रमुख अतिथिका रूपमा रहनुभएको थियो । कार्यक्रमको औपचारिक सुरुवात गर्दै एजेन्सी म्यानेजर मिना बिष्टले स्वागत मन्तव्यमार्फत उपस्थित अतिथि तथा सहभागीहरूलाई स्वागत गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि कृपा राम चौधरीले एशियन लाइफले आफ्नो वार्षिकोत्सवलाई तामझामभन्दा पनि सेवामूलक कार्यमा केन्द्रित गरेकोमा प्रशंसा गर्नुभयो । उहाँले सामुदायिक विद्यालयका विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई प्रदान गरिएको शैक्षिक सामग्रीले उनीहरूको सिकाई प्रक्रियामा थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

विद्यालयकी सहायक प्रधानाध्यापक सिता चौधरीले विद्यालय र विद्यार्थीहरूको तर्फबाट कम्पनीलाई १८औँ वार्षिकोत्सवको शुभकामना दिँदै शैक्षिक क्षेत्रमा निजी क्षेत्रको यस्तो सहकार्यले शिक्षाको गुणस्तर सुधारमा टेवा पुग्ने धारणा राख्नुभयो ।

विभिन्न शिक्षक, शिक्षिका, एजेन्सी म्यानेजर तथा स्थानीय प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको सो कार्यक्रममा दर्जनौँ विद्यार्थीहरूलाई कापी कलम लगायतका सामग्री वितरण गरिएको थियो । कार्यक्रमको समापन गर्दै सभाध्यक्ष एवं शाखा प्रमुख केशव दत्त भट्टले १८ वर्षको यो यात्रामा साथ दिने सम्पूर्ण बिमित, अभिकर्ता र शुभचिन्तकहरू प्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि बेलौरी क्षेत्रमा थप उत्कृष्ट बीमा सेवा र सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो ।







