बेलौरी (कञ्चनपुर), २१ चैत
महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, बेलौरी शाखाको आयोजनामा ‘केन्द्र प्रमुख कार्यशाला गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम २०८२’ शनिबार यहाँ सम्पन्न भएको छ। बेलौरी नगरपालिकास्थित प्रेम होटलमा आयोजित उक्त कार्यक्रममा ग्रामीण क्षेत्रका महिलाहरूको आर्थिक पहुँच र वित्तीय अनुशासनका विषयमा घनीभूत छलफल गरिएको छ।

संस्थाकी सदस्य पुष्पा बिष्टको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रमुख प्रकाश बहादुर चन्द प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि चन्दले लघुवित्त संस्थाहरूले ग्रामीण अर्थतन्त्र चलायमान बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो।

कार्यक्रमका विशिष्ट अतिथि बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीको उपस्थिति रहेको थियो। कार्यक्रममा सुदूरपश्चिम प्रदेश सहायक प्रमुख निरसिंह चौधरी, धनगढी शाखा प्रमुख जीवन कुमार चौधरी र सहायक कर्मचारी भुवन भट्ट लगायत शाखाका कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो।
शाखा प्रमुख सागर मल्लले स्वागत मन्तव्य राख्नुभएको उक्त गोष्ठीमा सहभागीहरूलाई ‘प्रोजेक्टर’ मार्फत श्रव्यदृश्य विधिबाट बचत, कर्जा परिचालन र वित्तीय व्यवस्थापनबारे प्रशिक्षण दिइएको थियो। सो क्रममा सदस्यहरूलाई मनोरञ्जनात्मक क्रियाकलापमार्फत बैंकिङ प्रक्रियाबारे जानकारी गराइएको थियो।
कार्यक्रमको विशेष सत्रमा संस्थामा आबद्ध विभिन्न गाउँपालिका तथा नगरपालिकाका उत्कृष्ट सदस्यहरूलाई पुरस्कृत गरिएको थियो। बचत तथा कर्जा कारोबारमा उत्कृष्ट ठहरिएका ग्राहक सदस्यहरूलाई प्रथम, द्वितीय र तृतीय श्रेणीमा सम्मान गरिएको थियो।

यसैगरी, संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत एक प्रेरक सम्मान समेत प्रदान गरेको छ। वि.सं. २०८१ सालमा उत्कृष्ट शैक्षिक सफलता हासिल गरी ‘गुगल’ (Google) कम्पनी मा नाम निकाल्न सफल एक सदस्यकी छोरीलाई विशेष सम्मान गरिएको हो। उक्त सम्मानले समुदायमा शिक्षाप्रतिको आकर्षण बढ्ने विश्वास संस्थाले लिएको छ।
जन्योमति रानाले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमको समापन गर्दै सभापति पुष्पा बिष्टले केन्द्र प्रमुखहरूको दक्षता अभिवृद्धिले नै संस्था र सदस्य दुवैको हित हुने धारणा राख्नुभयो। शाखा प्रमुख मल्लले धन्यवाद ज्ञापन गरेसँगै कार्यक्रम औपचारिक रूपमा समापन भएको थियो।





