केशब भट्ट, २२ चैत, कैलाली।

सशस्त्र प्रहरी बल, नेपाल नं. ७ बैद्यनाथ बाहिनी मुख्यालयको २५ औं स्थापना दिवस (रजत महोत्सव) को अवसरमा संगठनभित्र उत्कृष्ट कार्यसम्पादन गर्ने अधिकृतहरूलाई सम्मान गरेको छ। सोही क्रममा कंचनपुरस्थित शैलेश्वरी ३५ नम्बर गणका पूर्व प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) लोकेन्द्र देव भट्टलाई प्रशंसा पत्र प्रदान गर्दै सम्मान गरिएको हो।
शैलेश्वरी गण ३५ नम्बर गणमा कार्यरत रहँदा भट्टले संगठनबाट प्रदान गरिएका जिम्मेवारीहरूलाई प्रभावकारी, जिम्मेवार तथा व्यवसायिक ढंगले निर्वाह गरेका थिए। उनको नेतृत्वमा गणले हालसम्मकै उच्च राजस्व संकलन, सुरक्षा व्यवस्थापन, सीमा निगरानी, अपराध नियन्त्रण तथा विपद् व्यवस्थापन जस्ता क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको सशस्त्र प्रहरीले जनाएको छ। संगठनप्रति उच्च निष्ठा, अनुशासन र समर्पणका साथ काम गर्दै सांगठनिक लक्ष्य प्राप्तिमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै उनलाई सम्मान गरिएको हो। आइतबार उक्त प्रशंसा पत्र सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालले समारोहमा एसपी भट्टलाई प्रदान गरेका थिए।





