बेलौरी नगरपालिकाद्वारा कक्षा ८ को नतिजा प्रकाशन, ७२.५९ प्रतिशत विद्यार्थी ग्रेडेड

बेलौरी, कञ्चनपुर

कञ्चनपुरको बेलौरी नगरपालिकाले शैक्षिक वर्ष २०८२ को नगरस्तरीय आधारभूत तह अन्तिम अर्थात कक्षा ८ को परीक्षाको नतिजा सार्वजनिक गरेको छ। नगरपालिकाको आधारभूत तह परीक्षा सञ्चालन समितिको चैत २७ गतेको निर्णयानुसार उक्त नतिजा प्रकाशन गरिएको हो।

नगरपालिकाले सार्वजनिक गरेको विवरण अनुसार यस वर्ष समग्रमा ७२ दशमलव ५९ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्। नगरभित्रका ३४ वटा विद्यालयबाट जम्मा ९ सय ९६ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए। परीक्षामा सहभागी भएकामध्ये ७ सय २३ जना विद्यार्थीले ग्रेड प्राप्त गरेका छन् भने १ सय ८४ जना विद्यार्थी ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने भएका छन्।यस वर्षको परीक्षामा केही विद्यालयहरुले उत्कृष्ट नतिजा हासिल गरेका छन्। कल्याण माध्यमिक विद्यालय, कृष्ण आधारभूत विद्यालय, रिजेन्सी एकेडेमी, सिद्धबाबा एकेडेमी, सिद्धकेदारनाथ आधारभूत विद्यालय, सनराइज विद्या सदन इंगलिस स्कुल, उग्रतारा बाल विद्यालय र वात्सल्य विद्या निकेतनका शतप्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्। यद्यपि कालिका आधारभूत विद्यालय, सिद्धेश्वरी माध्यमिक विद्यालय र त्रिभुवन माध्यमिक विद्यालयको नतिजा भने तुलनात्मक रुपमा कमजोर देखिएको छ।

बढीमा दुई विषयमा नन ग्रेडेड (एनजी) आएका वा बढीमा दुई विषयमा अनुपस्थित भएका विद्यार्थीहरुका लागि नगरपालिकाले आगामी वैशाख १२ र १३ गते ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्ने भएको छ। नगरपालिकाका शिक्षा अधिकृत अमित प्रसाद भट्टका अनुसार ग्रेडवृद्धि परीक्षा सम्बन्धी विस्तृत सूचना पछि प्रकाशन गरिनेछ।

सार्वजनिक गरिएको नतिजा उपर चित्त नबुझ्ने विद्यार्थीले तोकिएको मितिभित्र पुनर्योगका लागि आवेदन दिन सक्ने व्यवस्था समेत गरिएको छ। विद्यार्थीले प्रति विषय दुई सय रुपैयाँका दरले हुने रकम नगरपालिकाको राजस्व शाखामा बुझाई आगामी वैशाख ७ गतेभित्र आफ्नो विद्यालयमार्फत निवेदन दिन सक्नेछन्।

सम्बन्धित विद्यालय तथा विद्यार्थीहरुले शिक्षा तथा मानव स्रोत विकास केन्द्रको आधिकारिक वेबसाइट इमिआइएस पोर्टलमा गएर आफ्नो नतिजा हेर्न सक्ने नगरपालिकाले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ