पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि तत्काल फिर्ता लिन उनेपा अध्यक्ष घिसिङको माग

वीरेन्द्रनगर, सुर्खेत

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गर्नुभएको छ। कर्णाली प्रदेशस्तरीय प्रथम अगुवा कार्यकर्ता भेला तथा सङ्गठन विस्तार कार्यक्रमका क्रममा सोमबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले सरकारले कर्णाली जस्तो विकट क्षेत्रलाई इन्धनमा विशेष सहुलियत दिनुपर्नेमा जोड दिनुभयो।

अध्यक्ष घिसिङले कर्णालीको भूगोल आफैँमा चुनौतीपूर्ण र खर्चिलो भएको उल्लेख गर्दै यहाँ बाह्य तथा आन्तरिक पर्यटकको आवागमनलाई सहज बनाउन डिजेल, पेट्रोल र ग्यास जस्ता अत्यावश्यक इन्धनको मूल्य वृद्धि गर्न नहुने तर्क गर्नुभयो। छिमेकी देश भारतले समेत इन्धनको मूल्यमा स्थिरता कायम राखेको उदाहरण दिँदै उहाँले नेपाल सरकारले नागरिकमाथि थोपरिएको मूल्य वृद्धिको भार घटाउनुपर्ने र यसको स्तरीकरणमा ध्यान दिनुपर्ने बताउनुभयो।

वर्तमान दुई तिहाइको सरकारलाई काम गर्ने वातावरण बनाउन आफ्नो पार्टीले रचनात्मक सहयोग गर्ने जानकारी दिँदै उहाँले पूर्वाधार विकासमा राजनीतिक प्रतिशोध भन्दा माथि उठ्नुपर्ने धारणा राख्नुभयो। आफू नेपाल विद्युत् प्राधिकरणको नेतृत्वमा रहँदा र सरकारमा सहभागी हुँदा कर्णालीको विद्युतीकरण र ट्रान्समिसन लाइन निर्माणका लागि करिब ३५ अर्ब रुपैयाँ लगानी सुनिश्चित गरेको उहाँले जिकिर गर्नुभयो।

विद्युत् विस्तारको सन्दर्भमा चर्चा गर्दै अध्यक्ष घिसिङले १३२ केभी प्रसारण लाइनको निर्माण कार्य जुम्लासम्म तीव्र गतिमा अघि बढिरहेको जानकारी दिनुभयो। नयाँ पार्टी गठन भएको छोटो समयमै निर्वाचनमा जानुपर्ने बाध्यता र व्यवस्थापकीय कमजोरीका कारण विगतमा पराजय भोग्नुपरे तापनि अबको निर्वाचनमा उज्यालो नेपाल पार्टी एक सशक्त शक्तिका रूपमा उदाउने उहाँले विश्वास व्यक्त गर्नुभयो।

आगामी दिनमा वडा तहसम्मै सङ्गठन विस्तारलाई तीव्रता दिइने र जनताका आधारभूत समस्या समाधानका लागि पार्टीले निरन्तर खबरदारी गर्ने प्रतिबद्धता समेत उहाँले सो अवसरमा व्यक्त गर्नुभयो। देशको आर्थिक समृद्धि र ऊर्जा सुरक्षाका लागि उनेपाले स्पष्ट मार्गचित्रका साथ काम गरिरहेको उहाँको भनाइ थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ