पुनर्बासमा १८ वर्षीय युवकको चक्कु प्रहार गरी हत्या, दुई जना पक्राउ

कञ्चनपुर, बैशाख ८।

कञ्चनपुरको पुनर्बास नगरपालिकामा गएराति चक्कु प्रहार गरी एक युवकको हत्या भएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पुनर्बास नगरपालिका ५, भानुबस्तीका १८ वर्षीय उज्वल सायरको हत्या भएको हो। सोमबार राति करिब १:३० बजेको समयमा सायरको छातीमा चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ।

चक्कु प्रहारबाट गम्भीर घाइते भएका सायरलाई उपचारका लागि तत्काल धनगढीस्थित माया मेट्रो अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुर्‍याएको केही समयमै राति २:२४ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) हेम शाहीले जानकारी दिनुभयो।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। अनुसन्धान प्रारम्भिक चरणमा रहेकाले पक्राउ परेका व्यक्तिहरूको नाम भने प्रहरीले गोप्य राखेको छ।

“हामीले दुई जनालाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया र अनुसन्धान अगाडि बढाएका छौँ,” डीएसपीले भन्नुभयो। मृतकको शव अहिले अस्पतालमै रहेको र घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ