बेलौरी, कञ्चनपुर ।
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य जनक सिंह धामीले स्थानीय नागरिकका दैनिक समस्या, विकास निर्माणका काम र प्रशासनिक उल्झनलाई सम्बोधन गर्ने उद्देश्यले बेलौरीमा सम्पर्क कार्यालय तथा सचिवालय स्थापना गर्नुभएको छ । जनताका चासो र गुनासो सुन्न, जनसेवा, सुशासन र नागरिक सहायतालाई प्रभावकारी बनाउन राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट निर्वाचित सांसद धामीले सो सचिवालय सञ्चालनमा ल्याउनुभएको हो ।
भौतिक पूर्वाधार, बाटोघाटो, विद्यालय, पुलपुलेसा, खानेपानी, स्वास्थ्य तथा विभिन्न विकास निर्माणका कार्यमा स्थानीय स्तरमा देखिने समस्या समाधानका लागि यो सचिवालयले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने बताइएको छ । नीति नियम र कानुन निर्माण गर्ने मुख्य जिम्मेवारी सांसदको भए तापनि जनसरोकारका विषय र विकासका काममा जनताले राखेको अपेक्षालाई सम्बोधन गर्नु आफ्नो नैतिक दायित्व भएको सांसद धामीले उल्लेख गर्नुभएको छ ।
सचिवालयले स्थानीय स्तरबाटै समाधान हुन सक्ने समस्यालाई तत्काल हल गर्ने र नीतिगत तहमा पहल गर्नुपर्ने विषयलाई केन्द्रसम्म पुर्याउने संयन्त्र तयार गरेको छ । सांसद धामीले आफ्नो कार्यव्यस्तताका कारण सधैं प्रत्यक्ष सम्पर्कमा रहन नसक्ने अवस्थालाई दृष्टिगत गर्दै सचिवालयका जिम्मेवार पदाधिकारीहरू मार्फत नागरिकका समस्या दर्ता र सम्बोधन गरिने स्पष्ट पार्नुभएको छ ।
सचिवालयलाई व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि स्वकीय सचिव पदम जोशी, संयोजक जनक चौधरी लगायत पुनर्वासका सुरेश गजुरेल, बेलौरीका विष्णु प्रसाद शर्मा, बेलडाँडीका तेज सिंह धामी र लालझाडीका खुशिराम रानालाई विभिन्न क्षेत्रको जिम्मेवारी तोकिएको छ । तोकिएका प्रतिनिधिहरूसँग गरिने सम्पर्क प्रत्यक्ष रूपमा सांसदसँगै पुगे सरह हुने र समस्याको आवश्यक पहल एवं सम्बोधन गरिने विश्वास दिलाइएको छ ।
यस प्रकारको स्थानीय सचिवालय स्थापनाले कञ्चनपुर क्षेत्र नम्बर १ का नागरिक र जनप्रतिनिधिबीचको दुरी कम गर्ने तथा सुदूरपश्चिम क्षेत्रको समग्र विकास, जनसेवा र सुशासन प्रवर्द्धनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।





