नेपाली काङ्ग्रेस बेलौरीका नगर सदस्य डम्बर सिहं धामी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

बेलौरी (कञ्चनपुर) ।

बेलौरी (कञ्चनपुर) । नेपाली काङ्ग्रेस बेलौरी नगर समितिका सदस्य डम्बरसिंह धामी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्नुभएको छ। रास्वपा कञ्चनपुरको जिल्ला अधिवेशनका क्रममा नेता धामी काङ्ग्रेस परित्याग गरी औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीमा समाहित हुनुभएको हो। अधिवेशनका अवसरमा आयोजित विशेष कार्यक्रममा रास्वपाका केन्द्रीय तथा जिल्ला तहका नेताहरूले उहाँलाई पार्टीमा स्वागत गर्नुभएको थियो।

कञ्चनपुर क्षेत्र नम्बर १ को स्थानीय राजनीतिमा लामो समयदेखि सक्रिय नेता धामी काङ्ग्रेसभित्र सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवानसिंह विष्ट समूहको निकट मानिनुहुन्थ्यो। विष्ट समूहमा रहेर स्थानीय स्तरमा राम्रो राजनीतिक प्रभाव बनाएका नगर सदस्य धामीले अचानक दल परिवर्तन गरेपछि कञ्चनपुर काङ्ग्रेसभित्र यसलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ। बेलौरीमा काङ्ग्रेसका स्थापित अगुवाहरू रास्वपामा प्रवेश गर्ने यो शृङ्खला पहिलो भने होइन, यसअघि पनि काङ्ग्रेसका क्रियाशील सदस्य पदमसिंह धामी र केपिजे शर्मा लगायतका नेता तथा कार्यकर्ताहरू काङ्ग्रेस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरिसकेका छन्।

पार्टी प्रवेश गरेपछि संक्षिप्त प्रतिक्रिया दिँदै नेता धामीले आफू आबद्ध पुरानो दलभित्रको बढ्दो गुटबन्दी र आन्तरिक कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्नुभएको छ। विशेष गरी काङ्ग्रेस महामन्त्री गगन थापाले संकटका बेला आफ्नै पार्टी सभापतिलाई संरक्षण गर्नुको साटो आफैँ सभापति बन्न खोजेको र पार्टीभित्र विद्रोहको वातावरण सिर्जना गरेको उहाँको आरोप छ। एउटा परिवारजस्तो संगठनमा अभिभावकलाई नै घात गर्ने प्रवृत्ति बढेकाले आफूले काङ्ग्रेस छोडेको धामीले स्पष्ट पार्नुभएको छ। उहाँले सुदूरपश्चिम र कञ्चनपुरको समग्र विकास, सुशासन तथा नागरिकको भावनाको कदर गर्न अब राष्ट्रिय स्वतन्त्र पार्टीले नै नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने विश्वास व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ