कञ्चनपुर, बेलौरी ।
कञ्चनपुरको बेलौरी नगरपालिका क्षेत्रभित्र सञ्चालन हुने अटो तथा ई-रिक्सा जस्ता तीन पाङ्ग्रे सवारी साधनहरूलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउने उद्देश्यका साथ विशेष ट्राफिक सचेतना अभियान सुरु भएको छ । अस्थायी ट्राफिक प्रहरी पोस्ट बेलौरी र बेलौरी नगरपालिका नगर कार्यपालिकाको कार्यालयको संयुक्त आयोजनामा यो अभियान बिहीबारदेखि सञ्चालनमा आएको हो ।
पछिल्लो समय बेलौरी बजार क्षेत्रमा ई-रिक्साको सङ्ख्या अत्यधिक बढेर यातायात व्यवस्थापनमा चुनौती थपिएपछि सम्भावित सडक दुर्घटना न्यूनीकरण गर्न यो कदम चालिएको हो । अभियान अन्तर्गत अस्थायी ट्राफिक प्रहरी पोस्ट बेलौरीका इन्चार्ज वरिष्ठ प्रहरी हवल्दार खेमराज भट्ट आफैँ सडकमा खटिएर चालकहरूलाई प्रत्यक्ष रूपमा सचेत गराइरहनुभएको छ । सो क्रममा उहाँले सवारी साधनको अगाडि र पछाडि स्पष्ट बुझिने गरी नम्बर प्लेट राख्न र सवारी दर्ता प्रक्रिया पूरा गरेर मात्र चलाउन चालकहरूलाई आग्रह गर्नुभयो ।
नगरपालिका र ट्राफिक प्रहरीद्वारा जारी आधिकारिक सचेतना सामग्री अनुसार बेलौरी नगरपालिकामा दर्ता नभएका तीन पाङ्ग्रे सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ । यसै गरी निजी प्रयोजनका लागि रातो प्लेटमा दर्ता भएका ई-रिक्साले यात्रु बोक्न नपाउने, चालक अनुमति पत्र अनिवार्य हुनुपर्ने र तीव्र गतिमा गुडाउन नहुने नियममा कडाइ गरिएको छ । बजार क्षेत्रमा हुने ध्वनि प्रदूषणलाई ध्यानमा राख्दै ठुलो आवाज आउने गरी साउन्ड सिस्टम र हर्न बजाउन समेत निषेध गरिएको छ ।
अभियानका क्रममा ट्राफिक प्रहरीले सडकमा विभिन्न सचेतनामूलक प्लेकार्डहरू प्रदर्शन गर्नुका साथै ई-रिक्साहरूमा नियम सम्बन्धी जानकारीमूलक सचेतना स्टिकरहरू समेत टाँसेका छन् ।





