धनगढी।
रसुवामा भएको प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको उद्धार तथा राहतका लागि धनगढी, कैलालीका यातायात व्यवसायी एवम् समाजसेवी योगेन्द्र (यम) बमले आर्थिक सहयोग उपलब्ध गराउनुभएको छ।
सेती महाकाली ट्रक यातायात व्यवसायी सङ्घका वरिष्ठ उपाध्यक्ष तथा रम्भा देवी ट्रान्सपोर्टका प्रोप्राइटर बमले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा ५१ हजार १११ रुपैयाँ (रु. ५१,१११/-) दाखिला गर्नुभएको हो।

विपद्का कारण जनधनको क्षति व्यहोर्न बाध्य नागरिकप्रति सहानुभूति प्रकट गर्दै व्यवसायी बमले सङ्कटको यस घडीमा प्रभावितलाई राहत पुगोस् भन्ने उद्देश्यले उक्त रकम कोषमा जम्मा गरिएको बताउनुभयो।
“विपद्को कठिन घडीमा पीडित परिवारलाई साथ दिनु र मानवीय सेवामा जोडिनु हामी सबैको दायित्व हो,” व्यवसायी बमले भन्नुभयो, “सानो सहयोगले पनि अप्ठ्यारोमा परेका नागरिकको घाउमा मल्हम लगाउन मद्दत पुग्छ।”
विभिन्न सामाजिक तथा मानवीय कार्यहरूमा क्रियाशील रहँदै आउनुभएका बमले विपद्पछिको उद्धार, राहत तथा पुनस्र्थापना कार्यमा हातेमालो गर्न निजी क्षेत्र र सम्पूर्ण सरोकारवालाहरूलाई आग्रहसमेत गर्नुभएको छ।





