धनगढी, कैलाली।
सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला अदालतले आर्थिक वर्ष २०८२/०८३ मा आगलागी, जनशक्ति अभाव र निर्वाचनको अतिरिक्त जिम्मेवारी जस्ता गम्भीर चुनौतीहरूको सामना गर्दै ६६ दशमलव ९३ प्रतिशत मुद्दा किनारा लगाउन सफल भएको अदालतका शाखा अधिकृत दिवानीराम लोहारले जानकारी दिएका छन्। अदालतको कार्यसम्पादन, उपलब्धि र आगामी कार्ययोजनाबारे आम नागरिकलाई जानकारी गराउने उद्देश्यले आयोजित पत्रकार भेटघाटमा शाखा अधिकृत लोहारले न्यायपालिकाप्रति नागरिकको विश्वास अभिवृद्धि गर्ने उद्देश्यका साथ उक्त प्रगति विवरण सार्वजनिक गरेका हुन्।

सोही अवसरमा कैलाली जिल्ला अदालतका स्रेस्तेदार चेतराज पन्तले सीमित स्रोतसाधन, कर्मचारीको अपर्याप्त दरबन्दी र अनियमित सरुवाका बाबजुद न्याय सम्पादनलाई निरन्तरता दिइएको बताए। गत वर्ष अदालतमा भएको आगलागीका कारण भौतिक संरचना, अभिलेख र सेवाग्राहीको नियमित सेवा प्राप्त गर्ने अधिकारमा प्रतिकूल प्रभाव परेको र करिब तीन महिनासम्म नियमित सेवा अवरुद्ध हुन पुगेको उनले स्मरण गराए। यसका साथै प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनमा प्रमुख जिल्ला न्यायाधीश भुवनसिंह थापाको अतिरिक्त जिम्मेवारीले पनि नियमित सेवा प्रवाहमा केही चुनौती थपेको अदालतको भनाइ छ।

गत आर्थिक वर्ष जिम्मेवारी सरेका एक हजार तीन सय पाँच र नयाँ दर्ता भएका तीन हजार तीन सय चौँतीस गरी जम्मा चार हजार छ सय उनान्चालीस लगतमध्ये तीन हजार एक सय पाँच मुद्दा फर्छ्यौट भएका छन्। न्यायाधीशगत मुद्दा फर्छ्यौटको विवरण अनुसार, प्रमुख जिल्ला न्यायाधीश भुवनसिंह थापाले ७९७ को लक्ष्यमा ८१० मुद्दा किनारा लगाएका छन्। यसैगरी, न्यायाधीशहरू दण्डपाणी लामिछानेले ३३, प्रदीपकुमार उपाध्यायले ७०, हरिसिंह धामीले ४४३, दिपेन्द्रनाथ योगीले ५६६, ठाकुरप्रसाद पौडेलले १७४, गोकुलबहादुर निरौलाले ७४१ र तीर्थराज भट्टराईले २६८ मुद्दा फर्छ्यौट गरेको विस्तृत तथ्याङ्क प्रस्तुत गरिएको छ।

अदालतमा दर्ता भएका मुद्दामध्ये पारिवारिक विवादतर्फ सम्बन्ध विच्छेदका ६१० र अंशबण्डाका ५२८ मुद्दा किनारा लागेका छन् भने फौजदारीतर्फ लागूऔषध हेरोइनका ३६९, बैंकिङ कसुरका २५३ र जबर्जस्ती करणीका ९८ मुद्दा फर्छ्यौट भएका छन्। चालु आर्थिक वर्ष २०८३/०८४ का लागि अदालतले पाँच हजार सोह्र वटा नयाँ मुद्दा दर्ता हुने अनुमान गर्दै तीन हजार तीन सय पाँच मुद्दा फर्छ्यौट गर्ने वार्षिक लक्ष्य राखेको छ। गत वर्षबाट जिम्मेवारी सरेका १५३४ र भाद्र १६ सम्म दर्ता भएका ५०७ गरी जम्मा २०४१ लगतमध्ये हालसम्म ३४४ मुद्दा फर्छ्यौट भइसकेको र चालु वर्षमा न्यायाधीशहरू भुवनसिंह थापाले ११६, इन्द्रबहादुर कठायतले १०४, ठाकुरप्रसाद पौडेलले ५२ र तीर्थराज भट्टराईले ७२ मुद्दा किनारा लगाइसकेको अदालतले जनाएको छ।

आगामी कार्ययोजनामा अदालतले पाँच वर्ष नाघेका पुराना मुद्दाको शीघ्र व्यवस्थापन गर्ने, आगजनीबाट प्रभावित संरचनाको पुनर्निर्माण गर्ने र अदालतलाई जनमैत्री बनाउने विषयलाई उच्च प्राथमिकतामा राखेको छ। सानातिना विवादलाई मेलमिलापबाटै समाधान गर्न प्रोत्साहन गर्ने, अनलाइन म्याद थप र भर्चुअल सुनुवाइ जस्ता प्रविधिको अधिकतम प्रयोग गर्ने तथा महिला, बालबालिका, ज्येष्ठ नागरिक एवं असहाय वर्गलाई कानुनी सहायतामा विशेष प्राथमिकता दिइने नीति लिइएको छ। अदालत कुनै व्यक्ति वा समूहको नभई संविधान र कानुनबमोजिम न्याय खोज्ने प्रत्येक नागरिकको भएकाले न्याय सम्पादनमा निष्पक्षता, स्वतन्त्रता र कानुनको सर्वोच्चतालाई केन्द्रमा राखिने प्रतिबद्धता व्यक्त गरिएको छ।
जनताको विश्वास नै न्यायपालिकाको जग भएकाले सञ्चारमाध्यमसँगको सहकार्यमा तथ्यपरक सूचना प्रवाह गर्दै कैलाली जिल्ला अदालतले आगामी दिनमा सुदूरपश्चिम प्रदेशको न्याय प्रणालीलाई थप जवाफदेही, पारदर्शी र नागरिकमैत्री बनाउने अपेक्षा गरिएको छ।





