बेलौरी, कञ्चनपुर।
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधित्व गर्ने नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय तथा स्थानीय तहका नेताहरूको संयुक्त बैठकले यस क्षेत्रको दीर्घकालीन विकास, कृषि आधुनिकीकरण र पूर्वाधार विस्तारका लागि आठबुँदे रणनीतिक योजना तय गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीसमक्ष मागपत्र पेस गर्ने तयारी गरेको छ। मुख्यमन्त्रीसमक्ष प्रस्तुत गर्ने तयारी गरिएको उक्त पत्रमा आगामी आर्थिक वर्ष २०८३/०८४ भित्रै योजनाहरू पूर्ण रूपमा कार्यान्वयन हुने गरी आवश्यक बजेटको सुनिश्चितता गर्न माग गरिएको छ।

हालै गठन भएको प्रदेश सरकार जनलक्षित कार्यक्रमलाई प्राथमिकतामा राखेर अघि बढ्ने अपेक्षासहित स्थानीय नागरिकका तर्फबाट यी मागहरू अगाडि सारिएको पत्रमा उल्लेख छ। नेपालको संविधानको मर्म तथा जनअपेक्षालाई आधार मानी युवा, किसान, स्वास्थ्य, भौतिक पूर्वाधार र स्थानीय स्रोतसाधनको प्रवर्द्धनलाई योजनाको मूल आधार बनाइएको छ।

पेस गरिएको योजना पत्रमा बर्सेनि यस क्षेत्रका नागरिकलाई सास्ती दिँदै आएको दोदा नदी नियन्त्रणलाई प्रदेश सरकारकै पहिलो प्राथमिकतामा राखी विस्तृत गुरुयोजना निर्माण गर्नुपर्ने उल्लेख छ। यस्तै, बेलडाँडी, बेलौरी, पुनर्वास, कृष्णपुर तथा छिमेकी धनगढी उपमहानगरपालिकासम्मका आलु तथा प्याज उत्पादक किसानहरूलाई लक्षित गरी लालझाडी गाउँपालिकामा जग्गा व्यवस्थापनसहित चालु आर्थिक वर्षभित्रै सम्पन्न हुने गरी शीतगृह निर्माण गर्न बजेट माग गरिएको छ।

खेलकुद क्षेत्रको विकासका लागि पुनर्वास नगरपालिकामा खुला खेल मैदान तथा पालिकाको समन्वयमा अन्तर्राष्ट्रियस्तरका बन्द खेलहरू सञ्चालन गर्न सकिने कभर्डहल निर्माणका लागि बजेट विनियोजन गर्नुपर्ने विषय उठाइएको छ। यसका साथै बेलौरी नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति र नगरभित्र सुरक्षित तथा व्यवस्थित आवागमनका लागि भित्री चक्रपथ निर्माण कार्यलाई प्राथमिकतामा राखिएको छ।
कृषि र जैविक सम्पदा संरक्षणतर्फ बेलडाँडी गाउँपालिकाको झिलमिला फाँटालाई जडीबुटी विकास केन्द्रका रूपमा विकास गर्न र सोही ठाउँमा रहेको परम्परागत गौशालालाई जिल्लास्तरकै अत्याधुनिक गौशालाका रूपमा स्तरोन्नति गर्न माग गरिएको छ। उक्त गौशालाबाट मल, दूध तथा गहुँत प्रशोधन गरी व्यावसायिक उत्पादन सुरु गर्न गुरुयोजनासहितको बजेट आवश्यक रहेको पत्रमा औंल्याइएको छ। त्यसैगरी पुनर्वास नगरपालिकामा कृषि अनुसन्धान केन्द्र स्थापना गर्नुपर्ने योजना अघि सारिएको छ।

महिला सशक्तीकरण र स्थानीय अर्थतन्त्रलाई टेवा पुर्याउन कच्चा पदार्थमा आधारित महिला लघु उद्योग करिडोर स्थापनाको प्रस्ताव गरिएको छ। यस करिडोरमा पुनर्वासका वडा नम्बर ११ र १०, लालझाडीका सबै वडा, बेलौरीका ५, ७ र ९, बेलडाँडीका १, २ र ५ तथा कृष्णपुरका ३ र २ लगायत वन क्षेत्रसँग जोडिएका बस्तीहरूलाई समेट्न गुरुयोजना निर्माणको माग गरिएको छ। साथै यस क्षेत्रका पशुपालक कृषकहरूको सहजताका लागि बेलौरी वा पुनर्वास क्षेत्रमा व्यवस्थित दुग्ध विकास केन्द्र स्थापना गर्न बजेट विनियोजन गर्नुपर्ने माग समेटिएको जानकारी नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य लोकेन्द्र लम्सालले दिएका छन्।

दक्षिण क्षेत्रका जनताको आधारभूत आवश्यकता, कृषि उत्पादनको बजारीकरण र रोजगारी सृजनासँग प्रत्यक्ष जोडिएका यी योजनाहरू प्रदेश सरकारको आगामी बजेटमा समावेश भए यस भेगको आर्थिक तथा सामाजिक विकासमा ठोस टेवा पुग्ने विश्वास स्थानीय सरोकारवालाहरूले व्यक्त गरेका छन्।





