ईशान मेमोरियल अस्पताल बेलौरीमा सर्पदंशको प्रभावकारी उपचार: सरकारी औषधि पूर्ण रूपमा निःशुल्क

कञ्चनपुर, १७ असार।

कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरीस्थित ईशान मेमोरियल अस्पतालमा सञ्चालित सर्पदंश उपचार विभाग यस क्षेत्रका नागरिकका लागि प्रभावकारी स्वास्थ्य सेवाको केन्द्र बन्दै गएको छ। विगत तीन वर्षदेखि निरन्तर रूपमा सेवा प्रदान गर्दै आएको यस विभागले विषालु सर्पको डसाइबाट गम्भीर अवस्थामा पुगेका बिरामीहरूको सफल उपचार गरी ज्यान जोगाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ।

पछिल्लो समय वर्षायाम सुरु भएसँगै कञ्चनपुरका विभिन्न क्षेत्रमा सर्पदंशका बिरामीहरूको संख्यामा वृद्धि भएको छ। यसै क्रममा छिमेकी पुनर्वास नगरपालिका वडा नम्बर १ की १५ वर्षीया दीपिका बिष्ट र वडा नम्बर २ की ३० वर्षीया लक्ष्मी सार्की सर्पको डसाइबाट गम्भीर बिरामी भई उपचारका लागि ईशान मेमोरियल अस्पतालमा भर्ना भएका थिए। अस्पतालका चिकित्सक डा. जाफिर आलम र स्वास्थ्य टोलीको तदारुकता एवं अत्याधुनिक उपचार विधि (सक्सन लगायतका प्रविधि) का कारण उनीहरूको ज्यान जोगाउन स्वास्थ्यकर्मीहरू सफल भएका छन्। अस्पताल स्रोतका अनुसार पूर्ण रूपमा निको भए पश्चात् दुवै बिरामीलाई भर्ना भएको दोस्रो दिन नै डिस्चार्ज गरी घर पठाइसकिएको छ।

ईशान मेमोरियल अस्पतालका एच.आर. मदन भण्डारीका अनुसार सर्पदंशको उपचारमा प्रयोग हुने अति आवश्यक एन्टि स्नेक भेनम लगायतका अन्य आकस्मिक औषधिहरू सरकारद्वारा निःशुल्क रूपमा उपलब्ध गराइएको छ। “बिरामीहरूले यहाँ सर्पदंशको औषधिका लागि कुनै पनि शुल्क तिर्नु पर्दैन, जसले गर्दा ग्रामीण तथा विपन्न क्षेत्रका नागरिकहरूलाई ठूलो आर्थिक राहत मिलेको छ,” भण्डारीले स्पष्ट पारे।

विगत ३ वर्षअघि स्थापित यस विशिष्ट विभागको सेवा चौबीसै घण्टा र विश्वसनीय भएकाले बेलौरी नगरपालिकाका स्थानीय बासिन्दा मात्र नभई छिमेकी पुनर्वास नगरपालिका लगायत दूरदराजका क्षेत्रबाट समेत सर्वसाधारणहरू उपचारका लागि यहाँ आउने गरेका छन्। सर्पले डसेको थाहा पाउने बित्तिकै ढिला नगरी समयमै अस्पताल पुर्‍याउन सके बिरामीको ज्यान जोगाउन केन्द्र पूर्ण रूपमा सक्षम रहेको अस्पताल प्रशासनले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ